‘लकडाउन’ हुने जिल्लाको संख्या ३० पुग्यो

काठमाडौं । कोरोना संक्रमण तीब्र बनेसँगै थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या ३० पुगेको छ ।

आइतबार (आज) देखि लागू हुने गरी मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुरामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका हुन् । काभ्रे र मकवानपुरका मुख्य राजमार्ग र आसपासको क्षेत्रलाई केन्द्रित गरी निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ तथा बाजुराको हिमाली गाउँपालिकामा पनि निषेधाज्ञा जारी गरिएको छ ।

गोरखा र प्यूठानमा वैशाख २४ गतेसम्म, उदयपुर र गुल्मीमा २५ गतेसम्म, काभ्रेमा २६ गतेसम्म, मकवानपुर र बाजुरामा ३१ गतेसम्म निषेधाज्ञा लागू हुने स्थानीय प्रशासनले जनाएका छन् । काठमाडौं उपत्यकाका तीनसहित देशका २३ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको सरकारले जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन, रूपन्देही, पाल्पा र सुनसरीमा जिल्लाभर निषेधाज्ञा लागू छ ।

झापा, बागलुङ, बर्दिया, दार्चुला, डडेलधुरा, कालिकोट, कञ्चनपुर, जाजरकोट, सल्यान र रुकुम पश्चिममा आंशिक निषेधाज्ञा जारी गरिएको छ । वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले तराई र काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमित ५ सय र हिमाली र पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको थियो ।

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको हो । आवश्यकता हेरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले फरकफरक आदेश जारी गरेका हुन् ।

 
 
  
 

You may also like