प्रतिगमन पुनर्स्थापित भए समृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्ने छ : वामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेता–कार्यकर्ताहरुले आफ्ना गल्ती–कमजोरीप्रति आत्मालोचना गर्दै एकताबद्ध हुनुपर्ने बताएका छन् ।

आज (शनिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले गल्ती र कमजोरीप्रति आत्मालोचित भएको पनि बताएका छन् । ‘आजको दिन कम्युनिष्ट आन्दोलनमा लागेका हामी सबै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती–कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो’, गौतमले भनेका छन्, ‘मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु, तिनलाई सच्याउन लागिपरेको पनि छु । भविष्यमा सबै क्रमशः स्पष्ट हुँदै जाने छन् ।’

गौतमले अहिले श्रमजीवी वर्गका नेताहरुले सत्ता स्वार्थप्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छिया–छिया बनाएको आरोप पनि लगाएका छन् । ‘यो क्रियाकलाप रोक्न सकिएन भने प्रतिगमन पुनर्स्थापित हुनेछ । ऐतिहासिक उपलब्धि समाप्त हुनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको समृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्ने छ’, गौतमको भनाइ छ ।

 

 
 
  
 

You may also like