झाडापखालाबाट दिदी–बहिनीको मृत्यु

दाङ। झाडापखालाबाट दाङको राजपुर गाउँपालिका–६ खांग्रा नाकामा दुई दिदीबहिनीको ज्यान गएको छ । खांग्राकी ११ वर्षीया रीता बुढामगरको शनिबार राति र उनकी दिदी १३ वर्षीया विनीता बुढा मगरको आइतबार बिहान मृत्यु भएको हो ।

उनीहरूले शुक्रबार विद्यालयबाट फर्कंदा स्थानीय खोलामा माछा मारेका थिए । राति माछा खाएको र बिहानदेखि झाडापखाला लागेको आमा उर्मिला बुढाले बताइन् ।                                                                              समयमा अस्पताल पुर्‍याउन नसकिएका कारण उनीहरूको मृत्यु भएको राजपुर गाउँपालिका–६ का वडाध्यक्ष श्याम बहादुर रोकाले बताए ।

खांग्रा नाका नेपाल–भारत सीमाक्षेत्रमा पर्छ । त्यहाँबाट गाउँपालिकास्थित स्वास्थ्यचौकी पुग्न सडक यातायातको पहुँच छैन । करिब ४ घण्टा हिँड्नुपर्छ । विनीता स्थानीय बालकल्याण माविमा ६ कक्षा र रीता ४ कक्षामा अध्ययनरत थिए । शुक्रबार खांग्रा खोलाको माछा खाएका एकैघरका अन्य चार जना पनि बिरामी परेका छन् ।

कुमवीर रोकाकी छोरी आरती, छोरो सुरेन्द्र, बुहारी लीला र नातिनी रविना बिरामी परेको राजपुर स्वास्थ्य चौकी प्रमुख खिमबहादुर रावतले बताए । उनीहरूको अवस्था अहिले सामान्य रहेको उनले जानकारी दिए । माछा खाएका कारण नै बिरामी परेको हो या अन्य कारण भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए ।

 

 
 
  
 

You may also like