बाँकेमा कोरोनाबाट एकै रात पाँच जनाको मृत्यु, २४ घण्टामै थपिए ४२९ नयाँ संक्रमित

बाँके। बाँकेमा केहि दिनयता कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या ह्वातै बढेको छ । बाँकेमा एकै रात पाँच संक्रमितको ज्यान गएको छ । भेरी अस्पताल नोपलगञ्जमा उपचाररत खजुरा गाउँपालिका–३ निवासी ४७ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछि यही बैशाख १ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि शनिबार राती साढे १० बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै सोही अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। कोरोना पोजेटिभ भएपछि यही बैशाख १ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि शनिबार राति साढे १० बजे उनको मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी ३६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१० निवासी उनलाई शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनको शनिबार राति साढे २ बजेतिर मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी गत चैत २८ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । करिव दुई हप्तासम्म पनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी साढे ७ बजेतिर उनको मृत्यु भएको हो ।
होम आइसोलेशनमै आत्महत्या
कोरोनाबाट संक्रमित भएर होम आइसोलेशनमा बसिरहेका ६० बर्षीय पुरुषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–९ का ती पुरुषलाई बैशाख ३ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य भएको हुँदा उनी होम आइसोलेशनमा बसिरहेका थिए । घरमा बसिरहेका उनले शनिबार पौने ७ बजेतिर आत्महत्या गरेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतक सबैको शव नेपाली सेना र परिवारको समन्वयमा व्यवस्थापन गरिएको फोकल पर्सन ओलीले बताए । यो सँगै बाँके जिल्लाका मृत्यु हुने कोरोना संक्रमितको संख्या ८३ पुगेको छ ।

२४ घण्टाभित्रै थपिए ४२९ नयाँ संक्रमित

बाँकेमा शनिबार बेलुकी ४२९ जना नयाँ संक्रमित फेला परेका छन् । कुल ६५५ वटा स्वाब परीक्षण गर्दा ४२९ जनालाई संक्रमण पुष्टि भएको हो । यसमध्ये बाँकेका मात्र १८६ पुरुष र १६१ महिला गरी ३४७ जना छन् ।

भेरी अस्पतालमा २८८ जनाको परीक्षण गर्दा २०४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । नेपालगञ्ज मेडिकल कलेजमा १५८ स्वाब परिक्षण गर्दा ११८ जना पोजेटिभ भएका छन् । बागेश्वरी ल्याबमा १४० को परीक्षण गर्दा ९३ जनालाई संक्रमण भएको छ । जमुनाहास्थित हेल्थ डेस्कमा ६९ जनाको परीक्षण गर्दा १४ जनालाई संक्रमण देखिएको केन्द्रले जनाएको छ ।

बाँकेमा अहिलेसम्मको कुल पोजेटिभ संख्या ७ हजार १९७ पुगेको छ । यसमध्ये ४ हजार ४ सय पुरुष र २ हजार ७ सय ९७ महिला छन् । अहिलेसम्म ४ हजार ९९१ जना डिस्चार्ज भएका छन् ।

भेरी अस्पतालमा शनिबार बेलुकीसम्म ९८ जना पुरुष र ८३ महिला गरी १८१ जना संक्रमित भर्ना भएका छन् । यसमध्ये ५७ जना सिकिस्त छन् । मेडिकल कलेजको शिक्षण अस्पतालमा ३१ पुरुष र २४ जना महिला गरी ५५ जनाले उपचार गराइरहेका छन् । त्यसमध्ये २६ जना संक्रमित सिकिस्त रहेका छन् ।

होटल ह्वाईट हाउसमा ३३ पुरुष र ६ महिला गरी ३९ जना छन् । कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ९ जना पुरुष रहेका छन् । यसमध्ये ३ जना सिकिस्त रहेको बताइएको छ । यस्तै होम आइसोलेशनमा १ हजार ६८ पुरुष तथा ९ सय १२ महिला गरी १ हजार ९ सय ८० जना बसिरहेका छन्। बाहिरी जिल्लाबाट बाँकेमा १ सय ३६ जनाले उपचार गराइरहेका छन् ।

 

 
 
  
 

You may also like