धरहरा चढ्दा आइफल टावर चढे जस्तै अनुभव भयो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन् ।

६ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए ।

‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ’, उनले भने ।

खनिज एवं प्राकृतिक सम्पदालेयुक्त नेपाललाई सम्पन्न र दाता राष्ट्रका रुपमा अघि बढाउने योजनामा सरकार लागेको उनको भनाइ थियो । मोबाइल, कम्प्युटर, टेलिभिजन जस्ता जनतालाई आवश्यक सामग्री देशमै उत्पादन गर्ने गरी उत्पादक देशका रुपमा स्थापित गर्न लागिएको प्रधानमन्त्री ओलीले बताए ।

 

 
 
  
 

You may also like