देशका धेरै स्थानमा मेघगर्जनसहित बिहानैदेखि वर्षा, दिनभर मौसम नखुल्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित आज (बिहीबार) विहानैदेखि देशका धेरैजसो स्थानमा मेघगर्जनसहित बर्षा भइरहेको छ ।
वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश–३ हुँदै प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । प्रदेश–२ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश–१ तिर सर्ने क्रममा छ ।

‘काठमाडौंमा अब ४०–४५ मिनेटपछि पानी पर्न रोकिने सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘त्यसपछि वर्षा प्रदेश–१ तिर सर्न सक्छ ।’ तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन ।

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ । केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ । ‘तर रातिबाट फेरि मौसम सुधार (वर्षा रोकिने) हुने देखिएको छ,’ उनले भनिन् ।

 

 
 
  
 

You may also like