सकियो अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता

काठमाडौं। नेकपा एमालेभित्रको विवाद समाधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच राजधानीकाे मेरियट हाेटेलमा भेट भएकाे हाे। वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका छन्। तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्।

वार्तामा पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेल पनि सहभागी छन् । पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच अहिले केहिबेरमा पार्टीभित्रको समस्या समाधानको विषयलाई लिएर छलफल भएकाे एमालेका नेताहरुले बताएका छन् । दुई नेताबीच छलफलको वातावरण बनाउनका लागि नेता योगेश भट्टराईले समन्वयको भूमिका निर्वाह गरेका थिए । नेता भट्टराई आज बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पार्टी बचाउन पहल गर्न आग्रह गरेका थिए ।

पार्टी अध्यक्षको हैसियतले समस्या समाधानका लागि पहल गर्न ओलीलाई आग्रह गरेपछि छलफलको वातावरण सिर्जना भएको हो । संघका २७ र प्रदेशका पाँचसहित ३२ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण माग गरेपछि एमालेभित्रको विवाद झन चरम विन्दुमा पुगेको थियो । ओलीको निर्णयविरुद्ध नेपाल–खनाल समूह सर्वोच्च अदालतमा गए पनि आज निवेदन दर्ता हुन सकेन ।

 
 
  
 

You may also like