कार र ट्रक ठोक्किँदा पाँच जनाको मृत्यु

by समतल अनलाइन

नवलपरासी। पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कारलाई ठक्कर दिएको हो । ठक्करबाट कारमा सवार ५ जना पुरुषको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको छ ।

बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कारका यात्रुहरुको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० जंगलमा दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस गएराति दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने बसमा सवार सबै घाइते भएका छन् ।

बस सडक छेउ पल्टन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । घाइतेहरु मध्ये मकवानपुर जिल्लाको हेटौडा घर बताउने बस चालक ३५ बर्षीय लक्ष्मण तिमिल्सिनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये १५ जनाको पहिचान भएको छ भने अन्य घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको कावासोतीको नवलपुर अस्पताल, कालीगण्डकी अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।

 
 
  
 

You may also like