एमाले नेता–कार्यकर्ताले ‘अर्को मदन भण्डारी भेटियो’ भन्न थालेपछि ओली आत्तिए : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपामा हुँदा आफूलाई एमालेका नेता–कार्यकर्ता नै पार्टीमा अर्को मदन भण्डारी भेटियो भन्न थालेपछि केपी शर्मा ओली आत्तिएको बताएका छन् ।
तत्कालीन नेकपा कार्यकर्ताले प्रचण्डमाथि ठूलो विश्वास गरेपछि केपी ओलीले प्रतिगामीहरुसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको उनले दावी गरे ।

नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समितिद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेकपामा बलियो हुँदै गएपछि ओलीले प्रतिक्रान्तिकारीहरुसँग मिलेर षड्यन्त्र गरेको आरोप लगाए ।

‘कमरेड तपाईले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो । पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि ओली अत्तालिए । अनि जालझेल शुरू गरे’, प्रचण्डले भने । उनले ओली सरकारलाई कुनै पनि हालतमा निरन्तरता दिन नहुने भन्दै काँग्रेसले सरकार ढाल्न तत्परता देखाएको र जसपाले पनि पार्टीमा छलफल गर्छु भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरे ।

उनले विभिन्न पार्टीहरूसँग मोर्चा बनाएर ओलीलाई विघटनतर्फ पुर्याउने चेतावनी समेत दिए । ‘एमालको एउटा पक्षसँग हाम्रो मोर्चा छदैछ । हाम्रो पुरानो लभ छँदैछ । जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्छ । काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ । अनि, ओली चौथो हुन्छन् र विघटनतर्फ जान्छन् ।’

 

 
 
  
 

You may also like