२५ जना भन्दा बढी भेला हुन रोक लगाउन स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आज (शुक्रबार) बस्ने बैठकले निर्णय गर्न सक्ने जनाइएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको हो ।

त्यसैअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुनसक्नेछ ।
शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
यस्तै मन्त्रालयले कोरोना संक्रमण बढेपछि स्कुल, क्याम्पसलगायत भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएकाले सर्तकता अपनाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

‘हिजो मात्रै १८ वर्षमुनिका बालबालिकाको संक्रमण दर हिजो १६ प्रतिशत रहेको छ । अब विद्यालय बन्द गर्नुपर्छ । पठनपाठनलाई नियमित गर्न अनलाइनबाट गर्नुपर्छ’, मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नै पर्छ ।’
नेपालमा कोरोना दोस्रो लहर शुरु भएकोले स्कुल, कलेज, सिनेमा हल जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आइरहेको छ । त्यस्तै सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस पनि खुलेका छन् । हिजो मात्रै नेपालमा ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् ।

 

 
 
  
 

You may also like