बलात्कार प्रयासपछि बालिकाको कर्णाली नदीमा फालेर हत्या

२६ चैत्र २०७७, बिहीबार

मुगु । मुगुको सोरु गाउँपालिका–९ कालै गाउँकी नौ वर्षीया एक बालिकाको बलात्कार प्रयासपछि हत्या भएको छ ।सोरु गाउँपालिका–९ कालै स्थायी ठेगाना भई अहिले सोही गाँउपालिका–८ तारानीमा बस्दै आएका सिद्धिलाल चौलागाईकी नौ वर्षीया छोरी लक्ष्मी चौलागाईलाई सोही गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले चैत्र २१ गते बलात्कारको प्रयासपछि हत्या गरेको खुलेको छ ।

चैत्र २१ गते साँझ ५ बजेपछि घरबाट अन्दाजी पाँच सय मिटर टाढा शौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपित रावलले बलात्कारको प्रयास गर्दा अस्वीकार गरेपछि हत्या गरेको खुलेको हो । बलात्कार प्रयासलाई बालिकाले अस्वीकार गरेपछि आक्रमण गर्दा बेहोस् भएकी बालिकालाई मुगुको कर्णाली नदीमा फालेको आरोपितले स्वीकार गरेका हुन् ।

 

आरोपितले रावलले प्रहरीलाई बयानको क्रममा हत्या स्वीकार गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डीएसपी चित्रबहादुर भट्टराईले आरोपितले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको जानकारी दिए ।

चैत्र २१ गते दिउँसो आमासँग घर नजिकको खोलामा नुवाईधुवाई गरेकी बालिका साँझ ५ बजेतिर घरबाट ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानीयले देखेका थिए । बलात्कारको प्रयास गर्दा बालिका चिच्याउन थालेपछि घटना बाहिरिने डरले आक्रमण गर्दा ढुंगामा टाउको ठोक्किएर बेहोस् भएपछि उनलाई नदीमा फालेको प्रहरीसँगको बयानमा आरोपितले स्वीकार गरेको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया