अस्ट्रेलियाको सपना इन्डोनेसियामा अलपत्र, बन्धक बनाएर लाखौं असुली

by समतल अनलाइन

म्याग्दी । थोरै पैसामा सुरक्षित र छोटो समयमै समुद्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनाअघि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिताउन बाध्य भइन्। ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनालाई अस्ट्रेलिया पु¥याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो। इन्डोनेसियामा बन्धक बनाइएका उनीहरूले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपर्यो।

मानव तस्करका दलालहरूले चर्को यातना दिएर उनीहरूलाई अस्ट्रेलियाको बोर्डरमा पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले। घरबाट पैसा मगाउन नसकेपछि दलाले उनीहरूलाई इन्डोनेसिया अध्यागमनको जिम्मा लगाए। दलालकै इसारामा प्रहरीलेसमेत कुटपिट गरेपछि हिरासतभित्रै बिरामी भएकी खत्रीले म्याग्दीका चन्द्रकुमार केसीलाई उद्धारका लागि अपिल गरिन्। सात महिना लामो कानुनी प्रक्रिया पूरा गरी उनीहरू हालै नेपाल फर्किएपछि यो विषय बाहिर आएको हो।

‘मिठा–मिठा सपना देखाएर अवैध तरिकाबाट अस्ट्रेलिया लैजाने नयाँ रूट इन्डोनेसिया बनेको छ। यसरी इन्डोनेसिया पु¥याइएका धेरै नेपाली मानव तस्करको जालोमा फसेका छन्,’ उद्धारपछि बेनी आएकी खत्रीले भनिन्, ‘इन्डोनेसिया पु¥याएपछि बन्धक बनाई पैसा असुल्ने गिरोह नै छ। ईश्वरका कृपाले, अन्तिम समयमा एउटा मोबाइलबाट हामीले नयाँ जीवन पायौं।’ याे खबर आजकाे नागरिक दैनिकमा छ।

 
 
  
 

You may also like