कांग्रेसको अन्योल र अलमलले ओलीलाई विदा गर्न ढिला भइसक्यो : उपेन्द्र यादव

बुटवल । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको अन्योल र अलमलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्न ढिला भइरहेको बताएका छन् ।

प्रेस मञ्च नेपालले आज (शुक्रबार) बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘मनले चाहेर मात्रै हुँदैन अङ्क गणित चाहिन्छ । त्यसमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । हामी तयार छौं ।’ नेपाली, माओवादी र जसपा मिलेर अङ्क गणित मिल्दा सरकार बन्न सक्ने भए पनि त्यसमा आफूहरु मात्रै ताताएिर केही नहुने बताउँदै उनले यसमा नेपाली कांग्रेस पनि तातिनुपर्ने प्रष्टाए ।

अध्यक्ष यादवले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने स्पष्ट पारे । उनले संविधानविरोधी, लोकतन्त्र र संघीयता बिरोधी, प्रतिगामी शक्तिसँग सत्ता साझेदारी गर्न, सती जान र लगनगाँठो कस्न नसकिने बताएका हुन् । उनले आफ्नो पार्टी नफुट्ने र कुनै पनि बहानामा केपी ओली र ओली प्रवृत्तिसँग साँठगाँठ नहुने प्रष्ट पारे ।

‘अहिलेको ओली नेतृत्वको सरकार विस्थापित लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्छ,’ उनले भने । उनले आफ्नो पार्टीले ओली सरकारलाई विस्थापित गर्न खोजे पनि अन्य दलहरुले निर्णय गर्न नसक्दा सो कुरा पूरा हुन नसकेको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयाँ सरकार बनाउनुपर्ने कुरा उनले औँल्याए ।

यादवले जसपाका नेताहरु र प्रधानमन्त्रीबीचको भेटवार्ता रेशम चौधरीलगायत साथीहरुको रिहाइको लागि मात्र भएको प्रष्ट पारेका छन् । ‘चौधरीको मुद्दा राजनीतिक हो, अपराधिक मुद्दा होइन । उनलाई रिहा गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यसलाई हामीले सत्तामा जाने बाटो बनाउन र सरकारले पनि अङ्क गणितका लागि ब्ल्याकमेलिङ गर्ने अस्त्र बनाउन मिल्दैन,’ उनले भने, ‘पहिला मुद्दा फिर्ता र रिहाइ हुनुपर्छ । अनि बल्न सरकार जाने विषयमा छलफल हुन्छ ।’

यादवले प्रधानमन्त्री ओलीमाथि संसदलाई असफल बनाउन खोजेको आरोप पनि लगाए । प्रधानमन्त्री ओलीले पहिला आफै संसद विघटन गरेर र अहिले फेरि विजनेश नदिएर संसदलाई बेकामे बनाउन खोजको आरोप लगाए ।

 
 
  
 

You may also like