पार्टी फुटाउँदैनौं, मैदान पनि छाड्दैनौं : वरिष्ठ नेता नेपाल ‘जबजसँग कहिल्यै भेट नभएका ओलीले जबजको हिमायती आफू भन्दै भ्रम छरिरहेका छन्’

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबाट अलिकति पनि विचलित नरहेको बताएका छन् ।

आफू निकट अनेरास्ववियुको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्वोधन गर्दै नेता खनालले अध्यक्ष केपी ओलीसँगको लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने बताएका छन् । उनले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरेका छन् ।

नेता नेपालले कुनै पनि काममा सफलता पाउन इमान्दारीता र समपर्णभाव आवश्यक रहेको भन्दै आफू त्यसको पक्षमा रहे पनि अध्यक्ष ओली त्यसविपरीत हिँडेको र कम्युनिष्ट आन्दोलनलाई विसर्जन र विघटनको दिशामा लगिरहेका बताए । नेता नेपालले ओली हिटलरको नेपाली अवतार भएको पनि बताएका छन् ।

‘केपी ओलीको भ्रमबाट मुक्त हुनुपर्छ । उनी कम्युनिष्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लाँदैछन् । तर हामी पार्टी फुटाउँदैनौं, मैदान पनि छोड्दैनौ । पार्टी फुटाउने केपी ओली हुन्’, नेपालले भने ।

तर ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी हौं’ भन्ने भ्रम छरेको उनले बताए । जबज र केपी ओलीको कहिल्यै भेट नभएको भन्दै उनले भने, ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नु भयो ।’ अहिले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा आसेपासे र दासहरुलाई मात्र राखेको र उनीहरुमा गलत कुराको आलोचना गर्ने हिम्मत नभएको नेता नेपालले बताए ।

उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विद्यार्थीहरुलाई पढ्नु हुँदैन भनेर सिकाउने गरेको पनि बताए । उनले आफ्नो पक्ष र केपी ओलीबीच खराव र असल छुट्याउन आग्रह गरे । उनले केपी ओलीले खराव कुरा मात्र सिकाउने गरेको भन्दै आफूहरुले असल कुरा सिकाउने गरेको बताए ।

‘कमजोरी हटाउन नसक्नेले राम्रो कुरा ग्रहण गर्न सक्दैन । हामी र केपी ओलीबीच फरक यही छ । केपी ओलीले विद्यार्थीले पढ्नु हुँदैन । हामी पढ्नुपर्छ भनेर सिकाउँछौँ । मिहिनेतका साथ अध्ययन गर्नेलाई हौसला पनि प्रदान गर्छौ’, नेता नेपालले भने, ‘ फरक भनेकै यही हो ।’

नेता नेपालले नेपालको राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र राजादेखि गिरिजाप्रसाद कोइरालासँग समेत आफूले राजनीतिक सहमति गरेको फेहरिस्त सुनाउनै बाँकी रहेको बताए । उनले बाधा पन्छाउँदै नदी अघि बढे जसरी आफू अघि बढ्ने भन्दै आफू पछिल्लो अवस्थाबाट कुनै हालतमा विचलित नभएको बताए ।

 

 
 
  
 

You may also like