ओलीले स्पष्टीकरण सोध्नु अवैध र हाँस्यास्पद : भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध र हाँस्यास्पद भएको बताएका छन् ।

नेता रावलले नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाहीका लागि स्पष्टिकरण सोध्नु हाँस्यास्पद र अवैध भएको बताएका छन् ।

‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रण गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाही गर्नु अवैध र हाँस्यास्पद छ’, नेता रावलले भनेका छन् ।

यस्तो निर्णयलाई आफूले कदापि नस्वीकार्ने पनि रावलले बताएका छन । शनिबार राति सामाजिक सञ्जालमा लेख्दै रावलले निर्वाचनमा जारी गरेका प्रतिबद्धता पूरा नगर्ने, आफै हस्ताक्षरित गरी गरेको पार्टी एकता भत्काउने, एमालेको विधान उल्लघंन गर्दै फागुन २८ गते मनपरि निर्णय गर्ने जस्ता निर्णय किन गरेको भन्नेबारे ओलीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

शनिबार एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ओलीले पछिल्लो समय पार्टीमा आफूलाई अधिकार केन्द्रीत बनाउँदै लगेका छन् ।

 
 
  
 

You may also like