कांग्रेस, माओवादी केन्द्र र जसपाबीच ५ गतेपछि सत्ता गठबन्धन बन्छ : वर्षमान

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता गठबन्धनले मूर्तरूप लिने दावी गरेका छन् ।मंगललवार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीचको सत्ता समीकरणले मूर्तरूप पाउने बताए ।

तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि बताए । उनले भने, ‘५ गते जसपाको बैठक छ । उहाँहरूको त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रूप पाउँछ ।’

उनले थपे, ‘माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ किन भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढङ्गले आन्दोलन गरेको सन्दर्भमा र संसद् पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए ।

 

 
 
  
 

You may also like