नवरत्नका विद्यार्थीले पाए, विद्यालयमै सेनेटरी प्याड निकाल्ने मेशिन

झविन्द्र देवकोटा
बुटवल, १५ साउन । बुटवल सेमलारमा रहेको नवरत्न माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय समयमा चाहेजति सेनेटरी प्याड पाउने भएका छन् । लायन्स क्लव अफ बुटवल मणि उजेशले विद्यालयलाई सेनेटरी प्याड निकाल्ने डिस्पेन्सर मसिन बुधबार दिएसँगै छात्रा विद्यार्थीले जति आवश्यक पर्याे त्यति सेनेटरी प्याड मसिनबाट झिक्न पाउने भएका हुन् ।

महिनाबारी भएका कारण विद्यार्थीले स्कुल छोड्नु पर्ने समस्यालाई कम गर्नका लागि लायन्स क्लव अफ बुटवल मणि उजेशले एक कार्यक्रम गरि बुधबार सेनेटरी प्याड निकाल्ने मसिन विद्यालयलाई हस्तान्तरण गरेको हो । छात्रा विद्यार्थीले सेनेटरी प्याड निकाल्नका लागि दुई रुपैयाको सिक्का मसिनमा एटिएम मसिनमा झै राखेपछि मसिनबाट सेनेटरी प्याड आफै निस्कने क्लवका अध्यक्ष नेहा अग्रवालले जानकारी दिईन् । ४५ हजारभन्दा बढी मुल्य पर्ने उक्त मसिन मणि उजेशले विद्यालयलाई निशुल्क रुपमा प्रदान गरेको हो । अहिले बुटवल उपमहानगरपालिकाको सहयोगमा ३० प्रतिशत छात्रा विद्यार्थीले प्रयोग गर्न थालेको सेनेटी प्याडलाई सत प्रतिशत प्रयोग बढाउन लायन्स क्लव अफ मणि उजेशले मसिन प्रदानसँगै योजनानै बनाएर कार्यक्रम थालेको उनले बताईन् ।

कार्यक्रममा सेनेटी प्याड डिस्पेन्सर मसिन विद्यालयलाई हस्तान्तरण गर्दै लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुका पुर्व डिष्ट्रिक गर्भनर सुनिल वझाले सेनेटी प्याड प्रयोगमा ध्यान नदिदा महिलाहरुमा विभिन्न खाले दीर्ग रोगको संक्रमण देखिने गरेकाले प्याडको उचित प्रयोग बढाउन क्लवले गरेको कार्य सकारात्मक भएको बताए ।

कार्यक्रममा बुटवल नगरपालिकाका वडाध्यक्ष डम्बर भण्डारी, लायन्स क्लवका डिष्ट्रिक कोचिफ एड्भाईजर सुनिता बजिमय, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिध्वज मल्ल, मणि उजेशका निवर्तमान अध्यक्ष सृष्टि गुरुङ लगायतले विद्यालयमा मात्र सेनेटरि प्याड निशुल्क वितरण गर्नेमात्र होईन हरेक महिलाले सहज र सरल तरिकाले सेनेटरी प्याडका प्रयोग गर्ने अवस्थाको सृजना हुन अहिलेको आवश्यकता रहेको बताए ।
क्लवका सचिव प्रविना घिमिरेले संचालन गरेको कार्यक्रममा विद्यालयको मावि तहका विद्यार्थीहरुलाई महिनाबारी हुने समय, शारिरिक परिवर्तन, समस्या तथा स्वस्थ रहने उपायका बारेमा क्लवका उपाध्यक्ष सुरक्षा काफ्लेले जानकारी गराएकी थिईन । नवरत्न माविमा कक्षा ६ देखि १२ सम्म साढे चार सय छात्रा विद्यार्थी रहेको र नगरपालिकाको सहयोगमा ३० प्रतिशतले मात्र सेनेटरी प्याड प्रयोग गर्ने गरेको विद्यालयका प्राचार्य हेमराज आचार्यले जानकारी दिए । डिस्पेन्सर मसिन छात्राका लागि उपयुक्त पर्ने स्थानका राखिने समेत आचार्यले बताए ।


क्लवले आउने शुक्रबार रुपन्देहीको देवदहमा रहेको जनता माध्यमिक विद्यालयमा पनि सेनेटी प्याड डिस्पेन्सर मसिन वितरण तथा महिनाबारी बारे छात्रालाई जनचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ ।

 
 
  
 

You may also like