निर्मलाको हत्यारालाई पनि चाँडै कठघरामा उभ्याउँछौं : गृहमन्त्री

by समतल अनलाइन

विराटनगर। गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पनि कानुनको पञ्जा नजिक रहेको दावी गरेका छन् ।

आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री थापाले निर्मलाको हत्यारालाई पनि चाँडै कानूनको कठघरामा उभ्याइने बताए ।

गृहमन्त्री थापाले कैलालीकी युवती भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई प्रधानमन्त्री ओलीले पानीमुनि गए पनि नछा्ने उद्घोष गरेको र सोही बमोजिम आफूहरुले हत्यारालाई पक्राउ गर्न सफल भएको बताए ।

महिलाहरुको बलात्कार र हत्या गर्ने अपराधीहरुलाई पानीमुनि गएपनि छाड्ने छैनौँ, कानुनको कठघरमा ल्याएरै छाड्छौँ भनेर प्रधानमन्त्रीले उद्घोष गर्नुभयो । उक्त उद्घोष भागरथीको सन्दर्भमा थियो’, मन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको उद्घोषलाई हामीले सत्य सावित गर्‍यौं, भागरथीको हत्यारा, बलात्कारीलाई कानूनको कठघरमा उभ्याएका छौं ।’

गृहमन्त्री थापाले सरकारले तीन वर्षमा सबैभन्दा बढी भ्रष्टाचारीलाई कारबाही गरेको दावी गरे । उनले महिला हिंसाको अन्त्य, गुण्डाराजको अन्त्य पनि यो तीन वर्षमा भएको बताए ।

 
 
  
 

You may also like