काँग्रेसले भन्यो – प्रदेश प्रमुखको बर्खास्त र नियुक्ति आपत्तिजनक

by समतल अनलाइन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश २ को प्रदेश प्रमुख बर्खास्त र नियुक्तिको विरोध गरेको छ । काँग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध र भत्सर्ना गरेको हो ।काँग्रेसले सरकारले प्रदशको गरिमा घटाउने काम गरेको टिप्पणी गर्दै संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति काम नमिल्ने बताएको छ ।

काँग्रेसले एकातिर निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको काँग्रेसको टिप्पणी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरेकी थिइन् ।

काँग्रेसको विज्ञप्ति :

सरकारको सिफारिसमा २ नं. प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ ।

अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।

संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न । अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।

 

 
 
  
 

You may also like