ओली मोहन समशेर बन्छन् भने कांग्रेस पनि राणाकालीन बन्ने हिम्मत राख्छ : गगन थापा

by समतल अनलाइन

‘देश सेटिङले होइन, संविधान अनुसार चल्नु पर्छ’
नुवाकोट। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले लोकतन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुमी शासन नचल्ने चेतावनी दिएका छन् ।

नुवाकोटस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटनपछि नेता थापाले कांग्रेसले ओलीको हुकुमी शासनलाई चल्न नदिने चुनौति दिए ।नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश बन्न खोजेको आरोप लगाउँदै मोहनशमशेर बन्न खोजे नेपाली कांग्रेस पहिलाकै स्थितिमा जाने हिम्मत गर्नुपर्ने बताए ।

‘श्री ३ मोहन समशेर र केपी शर्मा ओलीमा के फरक ?’ उनले भने, ‘यदि ओली मोहनशमशेर बन्न खोज्छन् भने कांग्रेस पनि राणाकालीन समयको कांग्रेस बन्ने हिम्मत राख्न सक्नु पर्छ र सक्छ ।’
वीपी कोइरालाले मोहन शमशेरलाई निडर भएर भनेको विषय स्मरण गर्दै नेता थापाले प्रधानमन्त्री ओलीको आँखामा आँखा जुधाएर प्रश्न गर्नुपर्ने बेला आएको बताएका छन् । उनले भने, ‘खड्गप्रसाद ओलीको आँखामा आँखा जुधाएर प्रश्न गर्नुपर्छ, हुकुमको शासन नेपालमा चल्दैन किनकी कांग्रेस जिउँदो छ ।’

सडकमा आएर प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई तर्साएको आरोप लगाउँदै नेता थापाले अदालतलाई तर्साउने प्रधानमन्त्रीलाई तर्साउने काम आफूहरुले गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले कसैसँग पनि नडराई कानुनसम्मत फैसला गर्नका लागि प्रधानन्यायाधीश र सर्वोच्च अदालतलाई ढाडस दिनुपर्ने नेता थापाले बताएका छन् ।

नेता थापाले सरकार र सडकमा बसेका कम्युनिष्टले चुनावको नौटङ्की मञ्चन गरेर देशलाई ठूलो द्वन्द्वतर्फ देशलाई धकेल्न खोज्दै गरेको आरोप लगाए । आफ्नै पार्टीका सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै उनले देश सेटिङमा नभई संविधान अनुसार चल्ने बताए ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रश्न गर्ने र आलोचना गर्नेको मुख थुन्नका लागि एक साताभित्र सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने गरी कानुन ल्याउन लागेको नेता थापाले बताए । उनले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने निर्देशिका लागू भएमा प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिनेलाई पाँच वर्ष जेल हालिन सक्ने समेत जानकारी गराए ।

 
 
  
 

You may also like