रामचन्द्र पौडेल भन्छन्, ‘ओलीजीकै चुनाव चिन्ह्को टुङ्गो छैन, कसरी हुन्छ निर्वाचन ?’

by समतल अनलाइन

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखमा गर्ने भनेको चुनाव हुने नसक्ने बताएका छन् ।

निर्वाचनका लागि आवश्यक तयारी गर्न धेरै कुरा चाहिने र अहिलेको राजनीतिक अवस्थालाई हेर्दा समय कम रहेको बताउँदै नेता पौडेलले भने, ‘प्रधानमन्त्री ओलीजीले निर्वाचनको गफ मात्र लाइदिनु भयो । उहाँको चुनाव चिन्ह्कै अझै टुंगो लागेको छैन, कसरी चुनाव हुन्छ ?’

आज (शुक्रबार) विराटनगरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले प्रदेश–१ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेसले सघाउने बताए । मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा कसलाई सघाउनेबारे कांग्रेस अहिलेसम्म निर्णयमा पुगेको छैन । यही समयमा पौडेलको यस्तो अभिव्यक्ति दिएका हुन् ।

कुराकानीमा नेता पौडेलले भने, ‘कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा उभिन्छ । पार्टी केन्द्रबाट पनि भोलिका दिनमा यही निर्णय हुनेछ ।’ उनले विपक्षी, प्रतिपक्षीको धर्म भनेको सत्ता पक्षको विरुद्ध मतदान गर्ने भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने समेत दाबी गरे ।

‘कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि केन्द्रीय कमिटीमा थेग्न सक्ने अवस्था छैन,’ वरिष्ठ नेता पौडेलले भने, ‘अब केन्द्रीय कमिटीबाट निर्णय भएर प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस जान्छ ।’ वरिष्ठ नेता पौडेलले अदालतले संसद पुनः स्थापना गरी प्रधानमन्त्रीले गरेको असंवैधानिक निर्णयलाई अदालतले उल्ट्याउने विश्वास जनाए ।

 

 
 
  
 

You may also like