ओलीले देशलाई ध्रुवीकरणतिर लगे : सभापति देउवा

by समतल अनलाइन

पोखरा। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणतिर लगेको बताएका छन् ।

पोखरामा आज (बिहीबार) नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले ओलीले हठातमा प्रतिनिधिसभा विघटन गरेर देशलाई ध्रवीकरणतर्फ लगेको बताए । प्रतिनिधिसभा विघटनपछि देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।

उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’ जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले पुन दोहोर्‍याएका छन् । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।

‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ देउवाले भने, ‘क्रियाशील सदस्यता लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैन ।’
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधी रहेको भन्दै देउवाले अहिले नै हतारिएर सशक्त आन्दोलनमा जान नहुने बताउँदै आएका छन् ।

तर कांग्रेसले प्रतिनिधि विघटनको विरोेधमा आन्दोलनका कार्यक्रमहरु भने गर्दै आएको छ । तर, पार्टीभित्रबाटै प्रतिनिधिसभाको विरोधमा सशक्त आन्दोलन गर्नुपर्ने दवाव देउवालाई छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह, गगन थापा, प्रदीप भट्टराईलगायतका नेताहरु सशक्त आन्दोलनको पक्षमा देखिएका छन् ।

 

 
 
  
 

You may also like