वैसाखमा चुनाव हुनै सक्दैन, यो ओलीको कुटिल चाल मात्र : शशांक कोइराला

by समतल अनलाइन

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आउँदो वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने दावी गरेका छन् ।

चुनाव हुन्छ भन्ने सम्भावना कांग्रेसका कोही कसैले पनि गर्न नहुने समेत उनले बताएका छन् । संसद विघटनको विरोधमा कांग्रेस दाङले आज (सोमबार) घोराही आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले भने ‘वैशाखमा चुनाव हुन्न, यसमा सबै ढुक्क भए हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री पद लम्ब्याउनका लागि चुनावको कुटिल चाल चलेको भन्दै कोइरालाले यसमा अरु कुनै सत्यता नभएको बताए ।

‘प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि चुनावको मिति नाटकीय शैलीमा घोषणा गरेका हुन्,’ कोइरालाले भने ‘चुनाव चिन्हमा देखिएको नेकपाको विवादले पनि चुनाव तत्कालै हुने सम्भावना छैन ।’ नेकपाको माधव कुमार नेपाल र पुष्पकमल दाहालले सूर्य चिन्ह प्राप्त गरेको खण्डमा प्रधानमन्त्री ओलीले मुद्दा हाल्ने र यो प्रकृया लम्बिने उनको भनाई छ ।

बैशाखमा निर्वाचन सम्भवै नरहेको बताएका कोइरालाले संसद पुनःस्थापना मात्रै कांग्रेसको एकल एजेण्डा रहेको समेत बताए । संविधानको हत्या गर्नेगरी प्रधानमन्त्रीले विघटन गरेको संसदको पुनस्र्थापना भए मात्रै संविधानको अस्तित्व जोगिने भन्दै उनले भने ‘आज कांग्रेस सडकमा छ, संविधानको रक्षाका लागि ।’ यसैगरी उनले कांग्रेस संसद पुनःस्थापनाका सवालमा एकल रुपमा आन्दोलनमा रहेको भन्दै यो मुद्दामा कसैसंग पनि सहकार्य नगर्ने बताए ।

‘कांग्रेस विचार र सिद्धान्तमा अरु पार्टी भन्दा उँचो पार्टी हो, यसर्थ कांग्रेसले जनहितका पक्षमा आफै सहि निर्णय गरेर अघि बढ्छ,’ उनले भने ‘कोही कसैसँग सहकार्य गरेर कांग्रेस अगाडि बढ्नु जरुरी छैन र सहकार्य गर्दैन पनि ।’ विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले समृद्ध नेपालको झूठो नारा घन्काएका कम्युनिष्टहरु आफू केन्द्रीत मात्रै भएको बताए ।

अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा भएका विभिन्न अपराधका संरक्षक बनेको आरोप लगाए । ओलीको यहि रबैयाको बिरोधमा नेपाली नागरिक सडकमा उत्रिएको भन्दै सडक संघर्षबाटै ओलीलाई जनताले कारवाही गर्ने बताए । ‘मुलुकमा अहिले भएका बिभिन्न अपराधका संरक्षक हुन् केपी ओली,’ चौधरीले भने ‘यस्ता अपराधका संरक्षकबाट समृद्ध नेपालको आशा गर्नु कति ठिक हो ?’

 
 
  
 

You may also like