‘मलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्छ’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली १० महिनापछि सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सबलीकरण (रेट्रोफिटिङ) गर्दै पुरानै ठाउँमा स्थानान्तरण भएपछि ओली कार्यालय उद्घाटनका लागि सोबार सिंहदरबार पुगेका हुन् ।
गएको वैशाख २८ मा असंलग्न राष्ट्रहरुको सम्मेलनमा भर्चुअल सम्बोधनका लागि उनी सिंहदरबार पुगेका थिए । सिंहदरबारबाटै प्रधानमन्त्री ओलीले सरकारको तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । कोभिडको कारण देखाउँदै उनले बालुवाटारमै मन्त्रिपरिषद् बैठक राख्ने गरेका थिए ।
आफ्ना तीन वर्षको उपलब्धीबारे आज (सोमबार) प्रधानमन्त्रीले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताए ।
‘प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छना मात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?’
उनले भने, ‘जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुई वर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? कि केलाई प्रतिगमन भन्नुभएको हो ? प्रणालीले कोरेका सीमाभन्दा बाहिर गएका छौँ ?’ उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी पनि गरे ।
‘कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नहुुन्छ कि ज्योतिषशास्त्र पढ्नु हुन्छ ?’, उनले भने, ‘कस्तो शास्त्र हो उहाँहरुको चुनाव हुँदैन भन्ने ? हामी उल्टो बाटोतर्फ फर्किएका छैनौं ।’ सरकार बनाउन र ढाल्न के के गरिए भन्नेतर्फ अहिले नजाने बताउँदै अस्वस्थ बाटो अवलम्बन नगरेको बताए ।