जनयुद्ध सम्झिँदै प्रचण्डले भने, ‘संविधानमाथि घात गर्नेलाई जनताले त्यसै छाड्दैनन्

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदहरुको बलिदानी र लाखौं जनताको प्रयासबाट प्राप्त भएको उपलब्धिलाई कुल्चने दुष्प्रयास भएको भन्दै आफूहरुलाई त्यो स्वीकार्य नहुने बताएका छन् ।

जनयुद्ध दिवसका अवसरमा शनिबार बिहान पेरिसडाँडामा आयोजित शहीद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि घात गर्नेलाई जनताले त्यसै नछाड्ने चेतावनी समेत दिए ।

अध्यक्ष प्रचण्डले सात दशक लामो संघर्ष र हजारौँको बलिदानबाट प्राप्त उपलब्धि खतरामा रहेको भन्दै फेरि एकपटक बलिदानका लागि तयार रहन संकल्प गर्नुपर्ने समय आएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले हजारौँ शहीदको बलिदानबाट बनेको संविधान र गणतन्त्रलाई किच्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए ।

‘केपी ओलीहरुले हजारौँ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी ठूलो भ्रममा छन् । यो भ्रमबाट छिट्टै मुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाब दिन चाहन्छु’, उनले भने, ‘नत्र भने हजारौ कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोज्नेकाविरुद्ध धावा बोल्ने छन् ।’

 
 
  
 

You may also like