ओलि समुहको बुटवलमा आज जनसभा , २ लाख जनता उतार्ने दावी

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ ।

सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दैछन् । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुनेछ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए । पूर्व लुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको छ । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्‍याली निकालिने छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले बुटवलमा केवलकार शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सबैभन्दा पहिला बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको बिहान साढे १० बजे शिलान्यास गर्नेछन् ।

लुम्बिनी केबलकार प्रालिको आधार स्टेसन बुटवलमा छ भने अन्तिम स्टेशन पाल्पा जिल्लाको वसन्तपुर रहेको छ । लुम्बिनी केबलबार प्रालिका सञ्चालक तेजबहादुर विश्वकर्माले बिहान ९ बजेपछि बुटवलको बम्घाटमा केबलकार शिलान्याश हुने बताएका छन् ।

ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी र चितवनसहित काठमाडौंमा शक्ति प्रदर्शनसहित जनसभा गरिसकेको छ । त्यसकै निरन्तरता स्वरुप आज बुटवलमा हुन लागेको हो ।

 
 
  
 

You may also like