निर्वाचनबाटै राष्ट्रको संकट हल गर्छौं : शंकर पोखरेल

by समतल अनलाइन

बुटवल।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी फागुुन १ गते बुटवलमा गर्ने जनसभा अहिलेसम्मकै ऐतिहासिक हुने बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशले बुटवलमा हुुने सभाले ऐतिहासिक महत्व राख्ने भन्दै १ गतेको सभा पनि देशलाई नयाँ दिशा निर्देश गर्ने खालको हुने दावी गरेको छ । सभामा २ लाख जनता सहभागी हुुने नेकपा स्थायी कमिटी सदस्य तथा लुुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए । बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एक लाख जनता रुपन्देहीका र एक लाख प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुनेछन । बुटवलको सभा यथार्थमै ठूलो सभा हुनेछ ।’

सभा सुरु हुुनुपूर्व अस्पताललाइनको खाली जग्गामा जम्मा भएर राजमार्ग चौराहा हुुँदै बुटवल ७ को सिद्देश्वरी माविको खेल मैदानमा सभा हुनेछ । सभामा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । सभामा पूर्व जनमुक्ति सेना पनि सभामा सहभागी हुने पोखरेलले बताए ।

images
प्रचण्ड नेपाल समूहले पनि बुटवलमा यही माघ १५ गते ठूलो सभा गरेपछि ओली समूहले पनि बुटवलमै ठूलो सभा गर्न लागेको हो । बुटवलको सभाले प्रचण्ड नेपाल समूह हौसिएको थियो ।

बुटवलको सभालाई ओली समूहले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ । ‘हाम्रो आन्दोलन होइन । जनमत प्रकट गर्ने कुरा हो । हामी त्यसैका लागि सभा सम्मेलन गर्दै आइरहेका छौं’ पोखरेलले भने । सानो ठाउँमा सभा भए पनि विभिन्न ठाउँमा ‘डिस्प्ले’ राखेर धेरै भन्दा धेरै जनतालाई नेताहरुको भाषण सुन्ने व्यवस्था मिलाइएको छ ।

मुुख्यमन्त्री पोखरेलले नयाँ निर्वाचनबाटै देशमा आइपरेको संकट हल हुने बताएका छन् । ‘जनमतमा जाने कुरा लोकतन्त्रको आधारभूत पक्ष हो’ मुख्यमन्त्री पोखरेलले भने, ‘हामी जनतालाई न्यायाधीश बनाउन चाहन्छौं । ओलीलाई तानाशाही भन्नेलाई चुनावले फैसला गरेर देखाउँछ ।’

ओली नेतृत्वको पार्टीले राष्ट्र निर्माण गर्ने र ओलीले अहिले गरेको अभ्यास बलियो प्रधानमन्त्रीको लागि भएको पोखरेलले दावी गरे । प्रधानमन्त्रीलाई असफल बनाउने खेल अन्त्य गर्न निर्वाचनमा जानु परेको उनले बताए । नेकपा विवादको कारण प्रतिनिधिसभा विघटन भएको पोखरेलले तर्क गरे । उनले विवादको परिणाम प्रतिनिधिसभा विघटन भएको बताए ।

सभा सम्मेलनमार्फत ओलीले अहिले चालेको कदम गलत होइन भन्ने हामी सन्देश जनतामा पुर्याउन चाहन्छौं भन्दै पोखरेलले राज्यलाई चुनौती आउँदा सरकार पक्ष पनि जनतामा जानुपर्ने अवस्था आउने बताए । सरकारलाई घेराबन्दीमा पर्न खोजेपछि जनतामाझ जान खोजेको उनले स्पष्ट पारे ।

 
 
  
 

You may also like