बाबुराम भट्टराईको आग्रह : संयुक्त आन्दोलन गरौं, ओलीले सात दिनमा घुँडा टेक्छन्

by समतल अनलाइन

धनकुटा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको लगातार विरोध र्दै आएका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनलाई सच्याउन संयुक्त आन्दोलनका लागि दलहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आज (शनिबार) धनकुटामा आयोजित विरोधसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ओलीको कदम नेपाली नागरिकले ७० वर्षको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथिको प्रहार भएको बताउँदै यो उपलब्धी रक्षाका लागि सबै दल र नागरिक समाज मतभेदलाई बिर्सेर आन्दोलनमा होमिनु पर्ने बताए ।

‘कांग्रेस, नेकपा माधव–प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर आन्दोलनको आँधी बेहरी सिर्जना गरी एक हप्ताभित्र केपी ओलीलाई घुँडा टेकाउनु पर्ने बताउँदै उनले भने, ‘ओलीको प्रतिक्रान्ति सच्याउन २०६२–०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नु पर्दैन, सात दिनमै घुँडा टेक्छन् ।’

कांग्रेसका तल्लो तहका नेता–कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाए पनि केन्द्रीय नेताहरू अलमलिएको उनले बताएका छन् । ‘कांग्रेस नेताहरू आन्दोलनमा नआएर के जोखाना हेरेर बसिराख्नु भएको छ ?’ उनले भने, ‘लोकतन्त्र गयो त सबैथोक गयो, २००७ सालदेखि लोकतन्त्रका लागि लडेको कांग्रेस यस्तो बेलामा चुप लागेर बस्न मिल्छ ?’

ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपयुक्त विकल्प भएको उनले बताएका छन् । ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं’ उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईले सडकमा आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव पक्षले ओलीसँग निर्णायक सम्बन्ध विच्छेद नगर्दा जनता सडकमा नआएको औंल्याएका छन् । संसद विघटन विरुद्धको आन्दोलन व्यक्तिभन्दा पनि प्रवृत्ति विरुद्धको आन्दोलन भएको उनको भनाइ छ ।

 
 
  
 

You may also like