पत्रकार महिला र सामाजिक अभियान्ता बीच अनुभव आदान प्रदान

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रदेश सभाका उपसभामुख कृष्णी कुमारी थारुले सामाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिला बीचमा आज बुटवलमा आयोजना गरेको अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्धालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने धारणा राख्नुभयो ।

महिलाहरु आर्थिक आत्मनिर्भर नहुँदासम्म सधैँ पछाडि पर्ने बताउँदै उहाँले अब उद्योग, पर्यटन जस्ता क्षेत्रमा महिलालाई सक्रिय सहभागी बनाउनुपर्ने बताउनुभयो । महिला अधिकारको रक्षा र शशक्तीकरणको सवाललाई बलियो बनाउन सञ्चारसंस्था र महिला पत्रकारको विशेष भूमिका रहने बताउनुभयो ।

आफु कम्लहरी हुँदा धेरै पिडा सहेकाले अरुले सहन नपरोस् भन्ने उद्देश्यले नै मुक्तीको आन्दोलनको नेतृत्व गर्दै प्रदेश सभाको यात्रा तय गरेको अनुभव सुनाउदै उहाँले संघर्षबाट पाठ सिकेर अगाडि बढेको बताउनुभयो । उपसभामुख थारुले प्रदेश सभाबाट लैङ्गिकमैत्री कानून बनाउन आफ्नो सक्रियता रहने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमूखी संस्थामा काम गर्दा समेत लैङ्गिकमैत्री वातावरण नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाउनुभयो । उहाँले नेतृत्व तहमा रहेका महिलाहरुलाई हेर्ने दृष्टिकोण पनि अझै सकारात्मक हुन नसकेको बताउनुभयो ।

गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले पितृसतात्मक सोंच र व्यवहारका कारण सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरुले समस्या भोग्नु परेकाले सबै मिलेर सशक्त ढंगले आवज उठाउनुपर्ने बताउनुभयो ।
सञ्चारिका समूह रुपन्देहीका सल्लाहकारहरु माया गौतम, इन्दिरा अर्याल र अमृता अनमोलले महिला भएकै कारण पत्रकार महिलालाई गर्ने व्यहार फरक भएको बताउदै परिवर्तनका पक्षमा निरन्तर कलम चलाउनुपर्ने बताउनुभयो ।
सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले समाज परिवर्तन, न्याय र अधिकारका लागि सञ्चारिकामा आबद्ध पत्रकार महिलाले निरन्तर कलमको माध्यमबाट आवाज उठाउँदै आएको बताउनुभयो ।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले हिंसा प्रभावित महिलाको न्याय र अधिकारका लागि काम गर्दा मानसिक रुपमा समेत पिरोलिनुपरेको अनुभव सुनाउँदै उहाँले सञ्चारसंस्थामा समाचार आएकै कारण पीडितलाई न्यायका लागि बल मिल्ने बताउनुभयो ।
कार्यक्रममा साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले पत्रकार महिलाहरुका कारण यौनिक तथा अल्पसंख्यक समुदायका आवाज उठाउन सजिलो भएको बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समूहका उपाध्यक्ष मिना ढकाल, सचिव अस्मिना पाण्डे, सामाजिक अभियान्ताहरु रिता सेन, राधा भट्टराई, रिमा बिसी, रचना पन्त, जानकी घिमिरे, सरस्वती रिजाल लगायतले पत्रकारिता र समाजिक क्षेत्रको अन्योन्याश्रीत सम्बन्ध रहेकाले समाज परिवर्तनका लागि सामाजिक अभियान्ता र पत्रकारहरु एक भएर लाग्नुपर्ने बताउनुभयो ।

 

 
 
  
 

You may also like