ओली र ज्ञानेन्द्र अध्यक्ष रहेको पार्टी बने आश्चर्य मान्नु पर्दैन : योगेश भट्टराई

by समतल अनलाइन

नवलपरासी । प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पार्टी बनेमा आश्चर्य मान्न नपर्ने बताएका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा आज (शनिबार) प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले ओलीका सबै कदम त्यसैतर्फ उन्मुख रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघीयताविरोधी छ दुबै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन । ओलीका सबै कदम त्यतातर्फ उन्मुख छन् । यी दुवै ( ज्ञानेन्द्र र ओली) अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन ।’

ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो । ‘मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर ओली संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे’, उनले थपे, ‘जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहने छन् ।’

प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए । निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिएर उनले ‘म नै राज्य हुँ’ भन्ने मान्यता बोकेका कारण ओलीलाई सबैले छोड्दै गएको नेता भट्टराईले बताए ।

नेता भट्टराईले सरकारी ढुकुटी खर्च गरेर आफ्नो फोटो टाँस्न लगाएर भाडामा मान्छे ल्याएर सडकमा सभा गर्ने हैसियतमा आइसकेकाले ओलीलाई सबैलाई छोड्न आग्रह गरे ।

 
 
  
 

You may also like