राष्ट्रिय विज्ञान दिवस मनाइँदै

by समतल अनलाइन

काठमाडौँ । ‘विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ ।

प्रदेश र स्थानीय तहमा समेत यही भदौ २६ गतेदेखि शुरु भएको दिवसको सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ भने असोज १ गते मूल समारोह समितिको कार्यक्रम हुँदैछ ।

सप्ताहअन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि भइरहेका छन् ।

दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक–एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।

यसैगरी विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम छ । सोही दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति नवप्रवर्तन पुरस्कारको घोषणा गर्ने मन्त्रालयका सचिव डा सञ्जय शर्माले बताए ।

दिवसका अवसरमा विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एसोसिएशन लगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन् । साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ ।

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मङ्सिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो ।

नेपाल सरकारले राष्ट्रिय विज्ञान नीति पनि जारी गर्ने तयारी पनि गरेको छ । दिवसले विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने र युवा जनशक्तिलाई स्वदेशमा नै रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्ने लक्ष्य लिएको छ ।

ad
ad

 
 
  
 

You may also like