ओलीलाई घुँडा नटेकाई सडक संघर्ष रोकिंदैन : झलनाथ खनाल

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म संघर्ष जारी रहने बताएका हुन् ।

‘ओलीको कदम प्रतिगमन हो । तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिंडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ ? यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं,’ खनालले भने ।

ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए । उनले भने, ‘यो संविधान विरोधि, लोकतन्त्र विरोधी घटना हो । केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन् । देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ । देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ ।’

वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’

नेता झलनाथ खनालले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरिसकेको समेत बताए । उनले ओलीलाई कम्युनिष्ट आन्दोलनका भगौडा समेत भएको आरोप लगाए ।

 

 
 
  
 

You may also like