ओलीसँग अब ‘साइबर स्याल र सेटिङ’ मात्र बाँकी छ : घनश्याम भुसाल

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली अब पराजित हुनुको विकल्प नरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै नेता भुसालले ओलीको असंवैधानिक कदमलाई घुँडा टेकाएर मात्र आफूहरु सडकबाट फर्किने चेतावनी दिए । प्रधानमन्त्री ओलीले जनताको साथ गुमाइसकेको बताउँदै भने, ‘ओलीसँग अब साइबर स्यालहरु र सेटिङ मात्र बाँकी छ ।’

भुसालले भने, ‘तपाईको सेटिङका कारणले अदालतले तपाईंसँग डराएर तपाईंको पक्षमा निर्णय गर्छन् भन्ने सोच्नु भएको छ भने तपाईं हार्नुहुन्छ । सेटिङले काम जासुसी उपन्यासमा मात्रै गर्छ ।’ उनले ओलीविरुद्धको निर्णायक संघर्ष गर्ने बेला भएको पनि बताएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएकाले तत्काल सच्चिन आग्रह गरेका छन् । नेता भुसालले प्रधानमन्त्री ओली पहिले पनि गलत बाटोमा हिँडेको र अहिले थप गलत गर्न लागिरहेको बताए ।

‘‘कमरेड प्रधानमन्त्री, कमरेड ओली गलत हुनुहुन्थ्यो । गलत हुनुहुन्छ । समय छँदै फर्किनुस्,’ भुसालले चेतावनी दिँदै भने, ‘नत्र इतिहासको कठघरामा उभिनु पर्छ ।’ उनले ओली अज्ञानताको निन्द्रामा रहेको भन्दै बिउँझन र गलत बाटोबाट फर्कन आग्रह गरे । ‘‘कमरेड ओेली बिउँझनुस्, फिर्ता हुनुस्,’ भुसालले भने ।

 
 
  
 

You may also like