प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै

by समतल अनलाइन

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९बिहीबार० देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांंग्रेसले जनाएको छ ।
कांग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।
यसैबीच संसद विघटनको विरोधमा आन्दोलन गर्दै आएको कांग्रेसले सरकारले वैसाखमा घोषणा गरेको मध्यावधि निर्वाचनसम्बन्धी कार्यक्रमहरुमा सहभागी हुन ७७ वटै जिल्ला समितिहरुलाई सर्कुलर पठाएको छ ।

आन्दोलन र चुनावमा सहभागी हुने दोहोरो अभिव्यक्तिका कारण कांग्रेसको अहिले आलोचना समेत भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा आन्दोलन नभई चुनावका पक्षमा अभिव्यक्ति दिइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापालगायतका नेता सरकारको कमदको विरोध गर्न सडक संघर्ष गर्नुपर्ने बताइरहेका छन् ।

संसद विघटनको कदमप्रति कांग्रेस नेताहरुको साझा धारणा आउन नसकेको भन्दै कांग्रेसको पछिल्लो प्रवृतिको राजनीति वृत्तमा आलोचना समेत भइरहेको छ ।

 

 
 
  
 

You may also like