ललितपुरमा नव विवाहित दम्पति मृत्त भेटिए

by समतल अनलाइन

काठमाडौं। काठमाडौंको टोखामा उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएको घटनाको चर्चा सेलाउन नपाउँदै काठमाडौं उपत्यकामै फेरि अर्का दम्पति मृत भेटिएका छन् ।

ललितपुरको लुबुमा आज ९मंगलबार० एक दम्पति मृत भेटिएको हुन् । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल मृत भेटिएका हुन् ।

कोठाभित्रबाट बन्द गरेको अवस्थामा दुवै जनाको शव भेटिएको महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिएकी छिन् । नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार पोखरेल भेटेनरी सामानका सप्लायर हुन् । उनीहरुबीच पाँच महिना अघि मात्रै विवाह भएको थियो । पोखरेल दम्पतिसँगै फ्याल्टमा आमा–बुबा पनि बस्ने गरेका थिए । तर, उनीहरु बालकोटस्थित छोरीको घरमा गएका वेला घटना भएको हो । आइतबार बिहानसम्म सम्पर्क भए पनि सोमबार बिहान फोन नउठेपछि उनीहरु घर जाँदा घटनाबारे थाहा पाएको भनिएको छ ।

प्रहरी सोमबार बिहान ११ बजे घटनास्थलमा पुगेको थियो । घटना भएको कोठा आसपास कुनै पनि किसिमको नोट प्रहरीले भेट्टाएको छैन । घटना पछाडिको कारण पत्ता लगाउन प्रहरीले अहिले आफन्तजनसँग सोधपुछसँगै उनीहरुको मोबाइल विश्लेषण गर्ने प्रयास गरिरहेको छ ।

घटनास्थलबाट बरामद मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको महर्जनले अनलाइनखबरलाई बताए । उनका अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । यसअघि पुस २५ गते काठमाडौंको टोखामा उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएका थिए । हालसम्मको अनुसन्धानले सुदिक्षाले उमेशको हत्यापछि आत्महत्या गरेको देखाएको छ ।

 

 
 
  
 

You may also like