काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको भए पनि अब अन्तिम चरणमा पुगेको बताएका छन् ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघ २ को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण सबल ढंगले गर्न सरकार सफल भएको बताएका छन् ।
‘पुनर्निर्माणका सन्दर्भमा यो महत्वपूर्ण र सन्तोष लाग्दो विषय हो । यसबाहेक देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि नगरपालिका तथा गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको छ । हाम्रो अनुभव अन्य देशहरूलाई पनि अनुकरणीय भएको छ’, उनले सन्देशमा भनेका छन् ।
२०७२ कै भूकम्पको अनुभवलाई आधार बनाएर सरकारले बाढी, पहिरोले क्षतिग्रस्त बनेका घरहरू पुनर्निर्माण गर्न कार्यविधि पारित गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
क्षति भएका घरहरूलाई पुनर्निर्माण गर्न हिमाली जिल्लामा प्रति लाभग्राही पाँच लाख रुपैयाँ र पहाडीमा चार लाख रुपैयाँ र तराईका जिल्लामा तीन लाख रुपैयाँ दिने कार्यविधि तयार भएको उनको भनाइ छ । असुरक्षित, पहिरो, बाढीका जोखिममा रहेका बस्तीहरूलाई एकीकृत रूपमा सार्ने विधि अवम्बन गरिएको उनको भनाइ थियो ।
सरकारले हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । विक्रम सम्वत् १९९० साल माघ २ गतेको महाभूकम्पमा परी सयौंको ज्यान जानुका साथै अर्बौंको भौतिक क्षति भएको थियो । त्यसयता यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।