दम्पतीको शंकास्पद मृत्यु : घटना थप रहस्यमय

by समतल अनलाइन

काठमाडौं । ‘पूर्वजन्ममा म उहाँको छोरा रहेछु, यो जन्ममा बाबु । मैले सायद के पूरा गर्न सकिनँ छाडेर जानुभयो ।’ ६८ वर्षीय तारकबहादुर केसी बानेश्वर थापागाउँस्थित पञ्चकुमारी किरियाघरमा मंगलबार यसरी मन बहलाउँदै थिए । आँखा रसाइरहेकै थिए । तापनि, शुभेच्छुकसँग उनी भन्थे, ‘हिजोको भागभोग हो । उसले चाँडै संसार छाड्यो ।’

तारकका छोराबुहारी उमेश र सुदीक्षा शुक्रबार राति टोखामा मृत फेला परेका थिए । तारक छोराबुहारीको किरियामा बसेका छन् । किरियापुत्री भवनमा कोठाबाहिर उमेशको फोटोमा माला चढाइएको थियो । नजिकै दियो बलिरहेको थियो । बुहारीको फोटो नभएकाले ल्याउने तयारी भएको उनले सुनाए ।

उनले उमेश परिवारसँग अलग्गिएर बस्नुको कारणबारे भने, ‘सायद उसलाई स्वतन्त्र भएर बाँच्ने इच्छा थियो । हामीले जबरजस्ती गरेनौ । ऊ राम्रैसँग बसेको थियो । टोखा बसे पनि आउजाउ गथ्र्यो ।’ प्रारम्भिक अनुसन्धानका नाममा बुहारी (सुदीक्षा) ले उमेशको हत्या गरेर आफूले आत्महत्या गरेको बुझाइप्रति उनले असहमति जनाए । ‘यो काल्पनिक कुरा मात्रै भएन र ? मारेको र मरेको देख्ने प्रत्यक्षदर्शी कोही छ ?’, उनले भने, ‘अब प्रहरी अनुसन्धानले देखाउला सत्य तथ्य के रहेछ ।’

घटनास्थल महानगरीय प्रहरी वृत्त महाराजगन्ज मातहतको जिम्मामा छ । संयोग ! वृत्तका डीएसपी रोशन खड्का तारककै विद्यार्थी रहेछन् । ३७ वर्ष शिक्षण पेसामा बिताएका तारक ३४ वर्ष त आदर्श विद्या मन्दिर (एबीएम) मा रहे । डीएसपी खड्काको स्कुले उमेर उनै तारकसँग जोडिन्थ्यो । तारकले भने, ‘डीएसपी खड्का मेरै विद्यार्थी रहेछन् । मैले फोन गर्न पनि हिम्मत गरेको छैन । अनुसन्धानमा राम्रै दख्खल राख्ने केटो हो । यो घटनाको पर्दा पछाडि को छ ? त्यो बाहिर आउने आश छ ।’

सुदीक्षाका माइती अमेरिकामा बस्दै आएका छन् । उमेशका परिवारजनले सुदीक्षाकी दिदी शर्मिलालाई मात्रै चिन्छन् । तिनै शर्मिला प्रहरी र उमेशका परिवारको शंकाको घेरामा छिन् । प्रहरीले लामो सोधपुछपछि उनलाई छाडेको छ ।

‘शुक्रबार बिहान साढे ६ बजे शर्मिला उमेशको कोठामा पुगेर घटना देखेपछि प्रहरीलाई किन खबर गरिनन् ?’, उमेशका दाजु हिमेशले भने, ‘हामीलाई त क्यानडाबाट सूचना आएको हो ।’ १२ घण्टापछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाउनु, शर्मिलाले प्रहरीमा तत्काल खबर नगर्नु, क्यानडासम्म घटना थाहा पाउनु, हिमेशका परिवारले उमेश र सुदीक्षाको शव अस्पताल पुगेपछि मात्रै थाहा पाउनुले घटना शंकास्पद रहेको बुझाइ प्रहरीको छ ।

क्यानडाबाट शर्मिलाकै आफन्तले एक पूर्वसुरक्षा अधिकारीलाई फोन गरी जानकारी दिएपछि आफूहरूले थाहा पाएको हिमेशले बताए । उमेश र सुदीक्षाको शव पोस्टमार्टमका लागि टिचिङ (त्रिवि शिक्षण) अस्पताल पुर्‍याइसकेपछि आफूहरू त्यहाँ पुग्दा मुर्छित भएको उनले सुनाए ।

‘धेरै कराएपछि भाइ बुहारीको शव हेर्न दिए । भाइ घोप्टो अवस्थामा थियो । टाउकोको पछाडि भागमा गहिरो चोट थियो’, उनले भने, ‘भाइको शव गन्हाउने भइसकेको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि थाहा भयो, धारिलो हतियार प्रहारबाट भाइको मृत्यु भएको र बुहारीको झुन्डिएर ।’

पोस्टमार्टम रिपोर्टअनुसार उमेशको मृत्यु २४ देखि ३६ घण्टा र सुदीक्षाको मृत्यु १२ देखि २४ घण्टाको बीचमा भएको देखिन्छ । ‘भाइलाई बुहारीले नै मारेको प्रमाण के छ र ? कि त प्रहरीले त्यो पुष्टि गर्नुप¥यो’, उनले भने, ‘होइन भने अर्को पक्ष को संलग्न छ ? त्यो पत्ता लगाई दिनुप¥यो ।’ शुक्रबार शर्मिला र सुदीक्षाबीच फोनमा लामो संवाद भएको तथ्य प्रहरीले फेला पारेको छ ।

गर्भवती थिइन् सुदीक्षा
त्रिवि शिक्षण अस्पतालमा शव पोस्टमार्टम गर्दा सुदीक्षाको गर्भमा दुई महिनाको बच्चा रहेको पाइएपछि परिवारका सदस्य झन् मुर्छित भएका छन् । उमेश अमेरिकाबाट नेपाल फर्किएको चार महिना भएको थियो । उनी फूलपातीका दिन नेपाल आएका थिए । जनवरी १४ मा अमेरिका उड्ने तयारी थियो ।

‘बच्चा पाउने तयारीबारे उमेशले परिवारका कसैलाई जानकारी दिएका थिएनन् । हाम्रो शंका गलत पनि हुन सक्छ’, हिमेशले भने, ‘कतै त्यही बच्चा पाउने वा नपाउने विषयलाई लिएर पो घटना भएको थियो कि !’

उमेश र सुदीक्षाबीच ६ वर्षअघि विवाह भएको थियो । बिहेमा सुदीक्षाका परिवारबाट शर्मिला र उमेशका तर्फबाट हिमेश मात्रै थिए । ‘उनीहरूले एकले अर्कोलाई मन पराए । बिहे गर्ने भनेपछि सहमतिमै गराइदियौं’, हिमेशले भने, ‘सम्बन्ध राम्रै थियो । एकाएक यो घटना आइलाग्यो ।’

चार टोली अनुसन्धानमा
टोखा घटना अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, अपराध महाशाखा, महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त महाराजगन्जका गरी चार टोली खटिएका छन् । प्रहरीले घटनास्थलबाट सुदीक्षा र उमेशका मोबाइल, सिलौटा, लोरोलगायत सामान बरामद गरेर प्राविधिक पक्षबारे अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले घटनाको प्रारम्भिक अनुसन्धानमा सुदीक्षाले उमेशको हत्या गरी आफूले आत्महत्या गरेको देखिए पनि अन्य पाटोबाट अनुसन्धान भइरहेको बताए । ‘हामीले विभिन्न प्राविधिक पाटोबाट अनुसन्धान गरिरहेका छौं । जे हो त्यो तथ्य बाहिर ल्याउँछौं’, एसएसपी अशोक सिंहले भने । गत शुक्रबार राति टोखास्थित ग्रान्ड भिल्लामा रहेको अपार्टमेन्टमा उमेश र सुदीक्षा मृत फेला परेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

 

 
 
  
 

You may also like