कांग्रेस चुनावबाट भाग्दैन : सभापति देउवा

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने स्पष्ट गरेका छन् ।आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन गर्दै सभापति देउवाले कांग्रेस अदालती निर्णयको प्रतीक्षामा रहेको बताए ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उनले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए कांग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट गरेका हुन् ।

उनले भने, ‘सबैभन्दा ठूलो त जनताको अदालत हो । हामी किन भाग्ने ? फेरि कांग्रेस त कानुन र अदालतको सम्मान गर्ने पार्टी हो । अदालतमा विचाराधीन रहेको विषयलाई प्रभावित पार्ने काम हामी गर्दैनौं । यो कांग्रेसको परम्परा हो ।’

कार्यक्रममा सभापति देउवाले सूर्यप्रसाद उपाध्यायको पार्टीमा ठूलो योगदान भए पनि सम्मान हुन नसकेको स्वीकार्दै आगामी दिनमा उनको सम्मानमा कमी हुन नदिने बचनवद्धता जनाए ।
पञ्चायतको समयमा सूर्यबाबुकै सहयोगमा देशभित्र कांग्रेस बचाउने काम भएको भन्दै उनले उपाध्यायको सहयोगबाटै तत्कालीन समयमा प्रजातन्त्रवादीहरुले संरक्षण पाएको पनि बताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा, विश्वप्रकाश शर्मालगायतका अधिकांश नेता प्रधानमन्त्रीको संसद विघटनको कदम अलोकतान्त्रि र असंवैधानिक भन्दै सडक सरकारविरुद्ध सडक आन्दोलन चर्काउनु पर्ने बताइरहेका बेला देउवा भने अझै दोधारमै रहेका छन् ।

उनले बाहिर सरकारको विरोध गरे जस्तो गरे पनि सरकारको असंवैधानिक कदमको खुलेर विरोध गर्न नसकेको आरोप स्वयम कांग्रेसका नेताहरुले नै लगाउँदै आएका छन् । अहिले कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निभाउन नागरिकले जिम्मेवारी दिए पनि सभापति देउवा राजनैतिक लाभको मौका हेरेर बसेको चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले प्रजातन्त्र र कांग्रेस पार्टीमा सूर्यबाबुको योगदान अतुल्य रहेको भन्दै बीपी कोइरालालाई छुटाउनका लागि उनले गरेको समन्वयकारी भूमिका उल्लेख्य रहेको स्मरण गरे ।

समाजका सभापति डा. केदारनरसिंह केसीले प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पु¥याएको देनको अवमूल्यन भएको देखेर संस्थाले विशेषांक प्रकाशन गरेको भन्दै कांग्रेसले आफ्ना संस्थापक नेतालाई सम्मान गर्न सक्नुपर्ने बताए । कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी, लोकेश ढकाललगायत वक्ताले सूर्यप्रसाद उपाध्यायको योगदानबारे आ–आफ्ना मन्तव्य राखेका थिए ।

 
 
  
 

You may also like