खानेपानी र सरसफाइमा लैंगिकता विषय अन्तरक्रिया एवं समाचार लेखन कार्यशाला

by समतल अनलाइन

बुटवल । भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बजेट र अपनत्व अभावले प्रदेशमा सुरु भएका खानेपानी र सरसफाइका योजना समयमा सम्पन्न गर्न समस्या भएको बताउनुभएको छ ।

संघीय सरकारले योजना हस्तान्तरण गर्ने तर त्यसअनुसारको बजेट विनियोजन नगर्दा योजना अलपत्र परेको र लक्ष्य अनुसार काम गर्न नसकेको उहाले बताउनुभयो । संचारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार बुटवलमा सुरु गरेको खानेपानी र सरसफाइमा लैंगिकता विषय अन्तरक्रिया एवं समाचार लेखन कार्यशालामा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

संघले कम बजेट पठाएकै कारण आगामी २ वर्षभित्र प्रदेशका सबै घरमा खानेपानी पुर्याउने लक्ष्य पूरा गर्न समेत समस्या भएको मन्त्री चौधरीले जानकारी दिनुभयो । खानेपानी र सरसफाइका योजना र कार्यक्रम दिगो, भरपर्दो र सबैका लागि बनाउन योजना छनोटदेखि निर्माण र कार्यान्वयन तहसम्म लैंगिकताका विषयलाई ध्यान दिएको मन्त्री चौधरीले बताउनुभयो । कतै कमजोरी भएको भए पृष्ठपोषणदिनेगरी संचारमाध्यमले झकझकाउनु पर्ने उहाको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष इश्वर गौतमले घर र भान्सा धेरै सम्हाल्ने महिला भएका कारण यसमा लैंगिकताको विषय बढी महत्वपूर्ण हुने बताउनुभयो । प्रदेशको आवधीक योजनामा खानेपानी र सरसफाइलाई महत्वका साथ उठाएको बताउदै उहाले संघको बजेट र स्थानीय तहको प्रतिवद्धता अभावले लक्ष्यअनुसार काम गर्न समस्या भएको बताउनुभयो ।

भौतिक पुर्वाधार मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारीले भौतिक पूर्वाधार विकासलाई पनि लैंगिक र सामाजिक समावेशीकरणयुक्त बनाउन अभ्यास थालेको बताउनुभयो । दिगो विकास लक्ष्यले खानेपानी, सरसफाइ र लैंगिकताको विषयलाई प्राथमिकतामा राखेकाल यो सबैको साझा विषय भएको बताउनुभयो ।

खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ध्रुब धितालले माग र आवश्यकताका आधारमा योजना नबन्दा खानेपानी र सरसफाईमा लैंगिकताको मुद्दा ओझेलमा परेको बताउनुभयो । प्रदेश पत्रकार महासंघका उपाध्यक्ष भरत केसीले खानेपानी र सरसफाइ व्यक्तिगत स्वस्थताका लागि महत्वपूर्ण भएकाले यसले समाचारमा पनि प्राथमिकता पाउने बताउनुभयो । संचारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले सबैको पहुंचमा खानेपानी र सरसफाइका सुचक पुर्याउन सके महिला र बालबालिकाको सुरक्षा र कार्यबोझ घट्ने बताउनुभयो ।

संचारिका समूह लुम्बिनी प्रदेशका महासचिव अमृता अनमोलले प्रदेश सरकारले संचालन गरेका खानेपानी र सरसफाइका योजनालाई लैंगिकमैत्री बनाउन सके प्रदेश सरकारले लक्ष्य लिएको पूर्ण सरसफाई र एक घर एक धाराको योजना पूरा हुने बताउनुभयो । उहाले शौचालय र खानेपानीको धारा कहा बनाउने, कसरी बनाउने भन्ने निर्णय महिलामा हुने हो भने त्यसले धेरै कार्यबोझ घट्ने र विकास र सुरक्षाका ढोका खुल्ने दावी गर्नुभयो ।

संचारिका समूह लुम्बिनीका अध्यक्ष पार्वती पाण्डेले समाचारमा हरेक विषयमा लैंगिकताको खोजी गर्न आवश्यक भएको बताउनुभयो । संचारिका समूह नेपाल लुम्बिनीको समन्वयमा आयोजित २ दिने कार्यशालामा प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता छ ।

कार्यशालामा भौतिक पुर्वाधार विकास मन्त्रालयका खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ध्रुब धिताल, लुम्बिनी प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ डा. नेत्र राना, योजना आयोगका सदस्य डा. विष्णु गौतम लगायतले सहजीकरण गर्नुभएको छ ।

 
 
  
 

You may also like