तानातान कांग्रेस : प्रचण्ड-नेपालको आशा सडकमा सहकार्य, ओलीको ‘अफर’ प्रधानमन्त्री

by समतल अनलाइन

सभापति देउवाको जोड : सडक होइन सरकार
काठमाडौं। प्रतिनिसिभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सडक आन्दोलनमा उत्रिएको छ । पहिलो चरणको आन्दोलन कार्यक्रम पुस १४ मा सकिए लगत्तै १५ गते नै पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम घोषणाको तयारीमा थियो, नेकपा प्रचण्ड–नेपाल पक्षको । तर आन्दोलन कार्यक्रम घोषणा भएन ।

नेपाली कांग्रेससँग सहकार्य गरेर आन्दोलनमा जाने तयारीको कारण नेकपाले आन्दोलन कार्यक्रम स्थगन गरेको थियो । तर कांग्रेसले सडक आन्दोलनमा चासो नदेखाएपछि शनिबार एक्लै आन्दोलन घोषणा गरेको छ ।

केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्मका लागि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले वडा तहमा जुलुसदेखि ठुला शहरमा प्रदर्शन र विरोध सभासम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

स्रोतका अनुसार नेकपाका नेताहरुले सभापति शेरबहादुर देउवा सहित दोस्रो तहका नेताहरुलाई भेटेर पटक–पटक संयुक्त आन्दोलनको प्रस्ताव गरेका थिए । तर सभापति देउवाको अनिच्छाको कारण संयुक्त आन्दोलनको प्रयास विफल भएको छ ।

सभापति देउवा निकट स्रोतका अनुसार सभापति देउवा प्रधानमन्त्री केपी ओलीसँग सहकार्यको पक्षमा छन् । प्रधानमन्त्री ओलीले सभापति देउवालाई भावी प्रधानमन्त्रीको रुपमा बचन दिएपछि उनले आन्दोलनमा अनिच्छा देखाएको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले भने, ‘सभापतिज्यूको प्राथमिकता सडक होइन सरकारमा सहकार्य हो । प्रचण्ड–नेपालसँग होइन ओलीसँग सहकार्य हुने बढी सम्भावना देख्छु ।’ प्रतिनिधिसभा पुनःस्थापना भए अर्को चुनाव नहुँदासम्म यी दुईबीच आलोपालो सरकार चलाउने सहमति भएको उनको दाबी छ ।

ती केन्द्रीय सदस्यको भनाईलाई सभापति देउवासँगै मिलेर आलोपालो सरकार चलाउने सहमति भइसकेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पनि पुष्टी गर्छ । प्रधानमन्त्री ओलीले आफूनिकट केही नेताहरुसँग भनेका छन्, ‘संसद् पुनःस्थापना हुँदैन, भइहाल्यो भने शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, हामी मिलेर सरकार बनाउँछौं । सडक आन्दोलनको चिन्ता तपाईंहरू नगर्नुस्, त्यसको भ्याक्सिन मसँग छ ।’

 
 
  
 

You may also like