सम्बन्ध बहुउद्देश्यीय सहकारीको प्रथम साधारणसभा सम्पन्न

by समतल अनलाइन

बुटवल। बुटवल–११ स्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य रणबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्ध सहकारी बुटवल वडा नम्बर ११ को पहिलो बुहउद्देश्यीय सहकारी पनि हो । बुटवल ११ मा बहुउद्देश्यीय सहकारीको आवश्यकता महशुस गरी सहकारी स्थापना गरिएको थियो । बुटवल उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा आउने बहुउद्देश्यीय सहकारीमा सम्बन्ध पहिलो बनेको छ ।
सहकारीका अध्यक्ष लोकराज शर्माले सहकारी नयाँ भएकोले संस्थालाई थप सुद्धढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको योगदान आवश्यक रहने बताए ।

शर्माले सहकारीलाई छिट्टै बुटवलकै नमूना सहकारीको रुपमा विकास गर्ने गरी कार्यक्रमहरू अगाडि सारिएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य रणबहादुर थापाले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए । थापाले सहकारीले देशको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका रहेको बताए ।

सहकारीका अहिलेसम्म शेयर सदस्य ५०९ जना रहेका छन् । आउँदो वर्षसम्म शेयर सदस्य वृद्धि गरी ६ सय पु¥याइने सहकारीका सचिव कमल नेपालले जानकारी दिए । सहकारीको शेयर पूँजी ३० लाख रुपैयाँ रहेको छ । त्यस्तै बचत १ करोड २५ लाख रुपैयाँ रहेको छ । सहकारीले ऋण लगानी १ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । सहकारीले कृषि र व्यवसायमा लगानी गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

कार्यक्रममा सहकारीका सल्लाहकारहरु राजेन्द्र ढकाल, मनोहर पाठक, राजेन्द्र पाण्डे, शालिकराम पौडेल, सहकारीका लेखा समितिका संयोजक रबिलाल गौतम, समाजसेवी खकप्रसाद पुन लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, उपाध्यक्ष विष्णु कुमारी घिमिरेको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर सदस्य वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी संस्थाका शेयर सदस्य सीता कार्की, कार्यालय व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत संस्थाका व्यवस्थापक बिमला अधिकारीलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like