एसइई आउँदो जेठमा गर्ने तयारी , शैक्षिक सत्र कहिले शुरु गर्ने भन्नेमा सरकार नै अलमलमा

by समतल अनलाइन

काठमाडौं । सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ ।आगामी जेठ महिनामा एसइई परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको जनाएको छ । कोरोना संक्रमणको कारण गत वर्ष एसइई परीक्षा नै सञ्चालन भएको थिएन । त्यसअघिका वर्षमा भने चैत महिनामा परीक्षा हुँदै आएको थियो ।

आगामी जेठसम्म एसइई परीक्षा हुने सम्भावना रहेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । ‘चैतरवैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘असार र साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिन्छ । त्यही अनुसार हामी तयारी गरिरहेका छौँ ।’

एसइई परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि रजिस्ट्रेसन फाराम खुला गरिसकेको छ । बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिने छ ।

यस वर्ष शैक्षिक सत्र कहिलेबाट शुुरु हुन्छ, अझै स्पस्ट भएको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र शुुरु भएर चैतमा सकिने व्यवस्था थियो । कोरोना संक्रमणका कारण विद्यायय खुल्न नसक्दा यस वर्ष शैक्षिक सत्र कहिलेबाट शुरु गर्ने भन्नेमा समेत सरकार अलमलमा छ ।

उपत्यका बाहिरका अधिकांश विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन अघि बढाए पनि राजधानी काठमाडौंका विद्यालय अझै खुलेका छैनन् । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयले वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालन गरिरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहहरुले कोरोनाको जोखिम कम भइनसकेको भन्दै हतारमा विद्यालय नखोल्न आग्रह गर्दै आएका छन् ।

 
 
  
 

You may also like