जीवन–मरणको छटपटीमा बलात्कृत ७ वर्षीया बालिका : अस्पतालको बेवास्ता, रोकिएन रक्तस्राव

by समतल अनलाइन

रौतहट । अस्पतालभित्र आउजाउ गर्ने बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिन भएकी बालिका सुतेकी छन् । बेडकै एक छेउमा आमा र आफन्त उनको अनुहार हेर्दै चिन्तित मुद्रामा छन् ।

गत सोमबार बलात्कृत ७ वर्षीया बालिकाले उचित उपचार र सुरक्षा नपाएको पीडित परिवारले गुनासो गरेका छन् । ती अवोध बालिका चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन् । मंगलबारदेखि अस्पतालमा राखिएकी उनलाई सामान्य बाहेक उपचार हुन सकेको छैन । बालिकाको बिग्रिँदो अवस्थाले अभिभावक छटपटाइरहेका छन् ।

सोमबार दिउँसो करिब १२ बजे रौतहटको चन्द्रपुर नगरपालिका–७ की बालिकालाई २२ वर्षीय दिनेश दास तत्माले बलात्कार गरी घाइते बनाएका थिए । पैसाको प्रलोभन देखाई उनलाई दासले घरनजिकै आम खोला किनारमा लगेर बलात्कार गरेका थिए। प्रहरीले ती बालिकालाई सोमबारै अस्पताल पुर्‍याएको थियो । त्यसदिन सामान्य उपचार गरी अस्पतालले घर पठाएको थियो ।

घरमा उनको स्वास्थ्यमा थप समस्या आयो । अत्यधिक रक्तश्राव भयो । पुनः उपचारका लागि त्यही अस्पताल लगियो । तर, स्वास्थ्यकर्मीले उपचारमा ध्यान नदिएको अधिकारकर्मी र आफन्तले गुनासो गरेका छन् । घटना भएकै दिन अस्पताल पुर्‍याउँदा डा. जहुर राइनले प्राथमिक उपचार मात्रै गरेर घर पठाएको पीडित पक्षको भनाइ छ । मंगलबार पुनः अस्पताल पुर्‍याउँदा पनि वास्ता नगरेको गुनासो छ । धेरै अनुरोधपछि बालिकाको घाउमा टाँका लगाइएको अभिभावकले बताए ।

बुधबार दिउँसोसम्म रक्तस्राव रोकिएको छैन । बालिका बोल्न डराउँछिन् । छेउमा बसेकी आमा छोरीलाई केही हुन्छ कि भन्ने चिन्तामा छिन् । बाबु अस्पतालबाहिर र भित्र गरेर छटपटाइरहेका छन् । बलात्कार जस्तो घटनाका पीडितलाई धेरै भीड हुने ठाउँमा राखिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like