राष्ट्रपति भेट्न शीतलनिवास पुग्यो चिनियाँ उच्च अधिकारीको टोली

by समतल अनलाइन

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको परिस्थिति र कारण बुझ्न आज (आइतबार) नेपाल आइपुगेको चिनियाँ उच्च अधिकारीको टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ ।

केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास पुगेको हो हो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए ।

राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

चार दिन नेपाल बस्ने चिनियाँ अधिकारीको टोलीले संसद विघटन र नेकपा विभाजनको कारण खोज्ने बताइएको छ । टोलीले विभाजित नेकपाका दुबै पक्षका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेकपा विभाजनको डिलमा पुगेका बेला सक्रिय रहेको चीन विभाजनपछि पनि उतिकै सक्रिय देखिएको छ ।

नेकपा विभाजनलाई रोक्न नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सक्रिय भएकी थिइन् । नेकपा विभाजनलाई रोक्न यान्छीको पहलका बावजुद पनि नेकपा दुई टुक्रा भएको छ । नेकपा विभाजनपछि पनि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभाजित नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेकी छिन् ।

 
 
  
 

You may also like