चीनले अब कृत्रिम वर्षा र हिमपात गराउँदै, भारत बराबरको क्षेत्रफलमा काम गर्ने

by समतल अनलाइन

काठमाडौं । चीनले यसै साता आफ्नो अनुसन्धानात्मक कृत्रिम मौसम सुधार कार्यक्रमलाई विस्तार गर्ने घोषणा गरेको छ ।

जसले अब ५५ लाख वर्ग किलोमिटर अर्थात भारतभन्दा १.५ गुणा ठूलो क्षेत्रफलमा काम गर्ने बताइएको छ । चिनियाँ राज्य परिषदको बयान अनुसार २०२५ सम्ममै चीनले ‘वेदर मोडिफिकेसन सिस्टम’ स्थापित गराइसक्नेछ ।

यसको अर्थ अबको पाँच वर्षमा यसले ५५ लाख वर्ग किलोमिटर सम्मको क्षेत्रमा कृत्रिम वर्षा या हिमपात गराउन सक्नेछ, भने ५ लाख ८० हजार वर्ग किलोमिटरमा चाहिँ असिना नियन्त्रणयुक्त प्रविधि स्थापित गरिने बताइएको छ ।

यसबारे दिइएको आधिकारिक बयानमा, यो कार्यक्रमले प्राकृतिक प्रकोपबाट राहत दिलाउने, कृषि उत्पादनमा सहयोग पुर्‍याउने अनि वनजङ्गलमा हुने आगलागीमा पनि आपतकालीन प्रतिक्रिया जनाउन मद्दत गर्ने भनिएको छ । त्यस्तै अधिक उच्च तापमानमा सुख्खापन र खडेरीबाट पनि यसले जोगाउन सक्नेछ ।

चीनले धेरै वर्ष अगाडिदेखि नै खोतीजन्य क्षेत्रलाई बचाउनका निम्ति मौसम नियन्त्रणको प्रयास जारी राख्दै आएको छ । जस्तै २००८ मा प्रमुख समारोहमा आकाश सफा राख्नका लागि चीनले बेइजिङ ओलम्पिक्स भन्दा अगाडि कृत्रिम बादलहरुमार्फत वर्ष गराएको थियो जसले धुँवाधुलो कम गराउनुका साथै खेलको समयमा वर्षा हुन दिएको थिएन ।

यसरी राजधानी बेइजिङमा महत्वपूर्ण राजनीतिक बैठकहरु भएका बेलामा पनि यही प्रणालीमार्फत सुन्दर मौसमका लागि आकाश सफा राख्ने गरिएको छ भने नजिकी उद्योगहरु पनि त्यसबेला बन्द गरिन्छ । आकाशमा कृत्रिम बादल निर्माण गरि वर्षा गराउने ‘कन्सेप्ट’ दशकौँ अगाडि आएको हो । यसमा एकदमै थोरै मात्रामा ‘सिल्भर आयोडाइड’ लाई धेरै ‘मोइस्चर’ युक्त बादलमा हालिने गरिन्छ । यो नयाँ पदार्थका कारण बादल छिटै भारी हुन्छ र वर्षाका रुपमा जमिनमा खस्छ ।

अमेरिकाको ‘नेशनल फाउन्डेसन’ को आर्थिक सहयोगमा यसअघि प्रकाशित भएको अध्ययनमा पनि कृत्रिम बादलले अनुकूल वातावरणीय अवस्था प्राप्त गरेमा धेरै ठूलो क्षेत्रमा समेत हिमपात गराउन सक्ने पत्ता लगाएको थियो । तर अझै पनि यो प्रक्रियालाई अनिश्चित मानिन्छ । तापनि चीनले मौसम सुधारका प्रविधिहरुमा केही वर्ष यता भारी लगानी गर्दै आएको छ ।

२०१२ देखि २०१७ का बीचमा मात्र चीनले विभिन्न आधुनिक मौसम सम्बन्धी कार्यक्रमहरुमा १.३४ अर्ब डलर खर्च गरेको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार गत वर्ष यिनै कृत्रिम मौसम प्रणालीका कारण चीनको पश्चिमी क्षेत्र, जिनजिआङस्थित प्रमुख कृषिजन्य क्षेत्रलाई असिना पानीका कारण हुने ७० प्रतिशत क्षतिबाट जोगाइएको थियो ।

चीनले मात्र नभएर अमेरिका सहित धेरै देशहरुले पछिल्लो समय यस किसिमको प्रविधि अपनाइरहेका छन् । तर यसप्रति चीनको अधिक उत्साहलाई लिएर छिमेकी देश भारतले भने चिन्ता व्यक्त गरिरहेको छ जहाँका किसानहरु आकाशे पानीकै भर पर्ने गर्दछन् । र पछिल्ला केही वर्षहरुमा जलवायु परिवर्तनका कारण मौसम अनिश्चित बन्दै जानुले उनीहरुलाई ठूलो अवरोध पुर्‍याइरहेको छ ।

बेइजिङले आफ्नो कृत्रिम मौसम सुधार प्रणालीलाई देशभित्र मात्र सिमित गराइरहेको भए पनि विज्ञहरुले यसको असर सम्भावित रुपमा सिमाना बाहिर पनि पर्न जाने चेतावनी दिइरहेका छन् । गत वर्ष नेस्नल ताइवान युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले मौसम सुधारसम्बन्धी गतिविधिमा उचित सहकारिता नभएमा यसले छिमेकबाट ‘वर्षा चोरी’ को अभियोग लाग्न सक्ने बताएको थियो जसकारण पनि यो परियोजना विवादास्पद बन्न सक्छ ।

कृत्रिम मौसम सुधार प्रणालीले जलवायु परिवर्तनका केही नकारात्मक असरहरुलाई कम गराउन सक्ने भएपनि वातावरणीय वैज्ञानिकहरुले यसबाट ठूलो अप्रत्याशित परिणाम आइलाग्न सक्नेमा चिन्ता व्यक्त गरिरहेका छन् । सीएनएन

 
 
  
 

You may also like