यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने

काठमाडौं । आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्नेछ ।

साफ च्याम्पियनसिप अगस्ट २१ देखि ३१ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारत रहेका छन् । खेल राउण्ड रोविन पद्धतीमा हुनेछ भने शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र भारतबीचको खेल अगस्ट २१ मा कल्याणी रंगशालामा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगस्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगस्ट २७ र अन्तिम खेलमा भुटानसँग अगस्ट २९ मा खेल्नेछ ।

अघिल्लो वर्ष साफ च्याम्पियनसिप नेपालले आयोजना गरेको थियो भने बंगलादेश विजेता बनेको थियो ।

खेल तालिका हेर्नुहोस्

 
 
  
 

You may also like