बालकले सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेपछि ११ जना भरुवा बन्दुकसहित पक्राउ

by समतल अनलाइन

बागलुङ। अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्विर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो ।

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिईका बयानका आधारमा गाउँमा थप बन्दुकहरु लुकिछिपी राखेको आशंकमा खानतलासी गरिरहेको छ । बुधबार साँझसम्म पनि खानतलासी र भेटिएका बन्दुकहरुको मुचुल्काको काम नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

‘मुचुल्का हुँदैछ नाम आइसकेको छैन्, भेटिएको ठाउँमा फोन लाग्दैन्’, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने, ‘संख्या बढ्न सक्छ, अहिलेलाई अनौपचारिक रुपमा ११ जना नियन्त्रणमा आएको खबर छ ।’ बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भइरहेको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई गोरु काट्दै गरिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनीहरूलाई अनुसन्धानको लागि जिल्ला पठाइएको उनको भनाइ छ ।

 

 
 
  
 

You may also like