महिला स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने

by समतल अनलाइन

परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्न अवकाश पछि रु दुई लाख उपदान दिने भएको छ ।

राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्दै आएका स्वयम्सेविकाले आफूहरुको योगदानको मूल्याङ्कन गरी नगरपालिकाले एकमुष्ठ उपदान दिने निर्णय गरेको भन्दै खुशी भएका छन् । अब नगर भित्रका महिला स्वयम्सेविकाहरुले ६० वर्षमा सेवापछि अवकाश पाउँदा नेपाल सरकारले दिने रकमको अतिरिक्त नगरपालिकाबाट थप रु दुई लाख एकमुष्ठ पाउने न¥गर प्रमुख धीरज शर्मा बस्यालले राससलाई जानकारी दिए ।

नगरसभाबाट पारित भईसकेकोले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम कार्यान्वयन हुने उनले बताए । यस निर्णयबाट सामुदायिक स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने बताउँदै नगर प्रमुख बस्यालले भने, “समुदायमा रहेर विशेषगरी बाल मृत्युदर र मातृ मृत्युदर घटाउन तथा स्वास्थ्य क्षेत्रमा उहाँहरुले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै अवकाशपछि उक्त रकम दिने निर्णय गरेका हौँ ।”

बर्दघाट नगरपालिकामा ४५ जना स्वास्थ्य स्वयम्सेविका छन् । अवकाशपछि स्वयम्सेविकालाई एकमुष्ठ रु दुई लाख प्रदान गर्ने बर्दघाट नगरपालिका नेपालकै पहिलो स्थानीय तह रहेको नगरपालिकाले जनाएको छ । समाजमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्दै आएका स्वयम्सेविकाहरुले हाल अवकाश लिँदा नेपाल सरकारबाट रु २० हजार पाउने गरेको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले बताए । अन्य स्थानीय तहले पनि उपदान दिने गरेको तर यति धेरै रकम दिने बर्दघाट मात्रै रहेको उनले बताए ।

 
 
  
 

You may also like