बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु, २० जना सिकिस्त

by समतल अनलाइन

बाँके ।बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत वृद्धको शनिबार राति ९:५५ बजे मृत्यु भएको हो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार भएको थिएन ।

योसँगै बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

बाँकेको भेरी अस्पतालमा उपचाररत आठ जना र शिक्षण अस्पताल कोहलपुरका १२ गरी २० संक्रमित सिकिस्त अवस्थामा रहेको उनले बताए ।

 
 
  
 

You may also like