दिवसमा सडक कुकुरलाई भ्याक्सिन

by समतल अनलाइन

बुटवल । विश्व रेबिज दिवसको अवसरमा सोमबार बुटवलका सडक कुकुरहरुलाई भ्याक्सिन लगाईएको छ । बुटवलका ४ जना युवाहरुको अगुवाईमा दिवसमा भ्याक्सिनेसन कार्यक्रम गरिएको हो ।

मानिसहरुलाई छाडा कुकुरहरुबाट रेबिजको सम्भावना हुने भएकाले अभियानका रुपमा अघि बढाईएको युवाहरु बताउछन । अल केयर नेपालमा आवद्ध युवाहरु आकास धिमाल, अस्बिन केसि, रमेश रिजाल र दिपक रिजालले लक डाउनसंगै बुटवलमा छाडा कुकुरहरुलाइ खाना खुवाउने र संरक्षणको काम अघि बढाएका हुन ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भ्याक्सिन सहयोग तथा पग्लिहवा कृषि क्याम्पसका भेटनरी सर्जन डा. गंगा यादव, डा सुदिक्षा पण्डित, भेटनरियन विद्यार्थीहरु केशव लम्साल र सन्दिप पौडेलले प्राविधिक सहयोग गरेका छन । रिफ्रेस क्याफे र लाईन एण्ड लेमन लन्च बारले समेत सहयोग गरेको छ । कार्यक्रम एक हप्तासम्म संचालन हुने अल केयर नेपालका दिपक रिजालले बताए । बुटवलका मुख्य चोकहरु ट्राफिक चोक, सुख्खानगर, योगिकुटी, डिगरनगर, देविनगर लगायतका क्षेत्रमा सिभिर राखिने उनले बताए । सन २०३० सम्म जिरो रेबिज लक्ष्य अनुसार नेपाल सरकारका योजनाहरु नलागेको उनले दुखेसो गरे ।

रेबिज लागेको कुकुरको टोकाईबाट धेरै मानिसको मृत्यु हुने गरेको भएपनि यसतर्फ स्थानिय सरकारको समेत चासो जान सकेको छैन । गएको आर्थिक वर्ष रुपन्देहीमा ७ हजार ८ सय जनालाई कुकुरले टोकेको थियो भने पछिल्लो दुई महिनामात्र १ हजार २ सय जनालाई कुकुरले टोकेको छ ।

 
 
  
 

You may also like